उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकामा निःशुल्क आँखा शिविर सुरु भएको छ । नगरपालिका र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा एक साताका लागि आँखा शिविर सुरु भएको हो ।
शिविरका क्रममा पहिलो दिन मोतिबिन्दु भएका बिरामीहरुको सफल अप्रेसन सुरु गरेको नगरपालिकाले जनाएको छ । चौदण्डीगढी ६ मा रहेको कोभिड अस्पातलमा सोमबारबाट सुरु भएको शिविरमा करिव तीन सय जना बिरामीको उपचार गर्ने लक्ष्य राखिएको नगरपालिकाले जनाएको छ ।
केही समयअघि २५ सय जनाको आँखा परिक्षण गर्दा तीन सय जनाको आँखामा मोतिबिन्दुको समस्या भएको पाइएको थियो ।
नगरपालिकाका मेयर कालुमान लामाले आफूहरुले केही वर्षयता निरन्तर आँखा शिविर सञ्चाल गर्दै आएको बताए । उनले मोतिबिन्दु भएर दुवै आँखा देख्न नसक्नेहरुको समेत शिविरमार्फत उपचार गरेको बताए ।
चौदण्डीगढीले अघिल्लो वर्ष पनि आँखा शिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा २२ सय ३५ जनाको आँखाको परिक्षण गर्दा २ सय २५ जनामा मोतिबिन्दुको समस्या देखिएको थियो ।