एमाले संसदीय दलको बैठक
विराटनगर : कोशी प्रदेशसभामा लामे समयदेखि रिक्त रहेको सभामुख पदको चयन प्रक्रिया अघि बढ्ने भएको छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सभामुख चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारका अनुसार ११ बजेबाट सभा सुरु हुनेछ । त्यसपछि सभामुख निर्वाचनको कार्यसूचि सार्वजनिक गर्ने उनले बताइन् ।
दनुवारका अनुसार दिउँसो ३ बजे सभामुखको निर्वाचन हुनेछ ।
कार्यव्यवस्था परामर्श समितिले सभामुख चयनको प्रक्रिया सुरु गर्ने निर्णय गरेसँगै प्रदेशसभाका प्रमुख दलहरुको बैठक बसिरहेको छ । सभामुख चयनको विषयलाई लिएर प्रदेशसभा सचिवालयमा दलहरुको संसदीय दलको बैठक बसेको हो ।
नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) दलको बैठक पनि बसिरहेको छ ।
कांग्रेस संसदीय दलको बैठकमा सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिने सांसद अमृत अर्यालले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी एमालेले पनि दलको बैठकमा सभामुखका विषयमा छलफल गरिने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
कोशी प्रदेशको सभामुख गठबन्धनले राप्रपालाई दिने यसअघि नै सहमति गरिसकेको छ । स्रोतका अनुसार एमालेले पनि राप्रपालाई समर्थन गरेर जानेछ ।
राप्रपाले सांसद अम्बरबहादुर बिष्टलाई सभामुखमा अघि सार्ने निर्णय गरिसकेको छ ।