Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रतुवामाईका २० जनामा हात्तीपाइले संक्रमण



रतुवामाई-७ को वडा कार्यालय

विराटनगर : मोरङको रतुवामाई नगरपालिकाका २० जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ ।

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र मकवानपुरले स्ञ्चालन गरेको हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तरगत पहिलो चरणमा रतुवामाई ७ का ३१० जनामा परीक्षण गरिएको थियो ।

तीमध्ये २० जनामा संक्रमण देखिएको वडा अध्यक्ष राम कार्कीले जानकारी दिए ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा वडामा आरडिटी जाँच गरिएको थियो । आरडिटी पोजेटिभ देखिएकाहरुको पुनः माइक्रोस्कोपिङ जाँच गर्न सुरु गरिएको छ ।

सोमबार राती १० देखि उनीहरुको रक्त नमुना संकलन गरी माइक्रो स्कोपिङबाट परीक्षण गरिएको कार्कीले बताए ।

हात्तीपाइले रोग के हो?
क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीवीबाट यसको संक्रमण सुरु हुन्छ। लामखुट्टेको टोकाइबाट मानव शरीरको लिम्फ्याटिक प्रणालीमा असर गरेपछि त्यहाँ अस्वभाविक वृद्धि हुनु नै हात्तीपाइले रोग हो। लामखुट्टेले टोकेको १० वर्षपछि मात्रै  यो रोगका लक्षण देखा पर्ने चिकित्सक बताउँछन्।

चिकित्सका अनुसार कामज्वरो आउने, जिउ वा टाउको दुख्ने, बान्ता हुने, अण्डकोष सुन्निने (हाइड्रोसिल), खुट्टा हात्तीको जस्तै हुने, हात सुन्निने, योनीद्वार वा स्तन सुन्निने यसका लक्षण हुन्।

विश्व स्वास्थ्य संगठनका अनुसार यस्तो रोगीमा फोक्सो सुन्निने, खोकी लाग्ने, दम बढ्ने र कहिलेकाहीँ खकारमा रगत देखिने हुन सक्छ। दम बढ्दा रोगी काम गर्न नसकेर हिँडडुल गर्न असमर्थ हुन सक्छन्।

संगठनका अनुसार ८१ राष्ट्रका १ अर्ब ३० करोड व्यक्ति हात्तीपाइले रोगको जोखिममा छन्। हाल १२ करोड व्यक्ति यो रोगबाट संक्रमित छन्। तीमध्ये करिब ४ करोड व्यक्ति रोगले गर्दा अपांग र अशक्त छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार