काठमाडौं : अधिकार माग्दै सातै प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ध्यानाकर्षण पत्र बुझाएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरुले ध्यानाकर्षण पत्र बझाएका हुन् ।
संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन मुख्यमन्त्रीहरुको माग छ। संघ सरकारसँग अधिकार माग गर्नका लागि बागमती प्रदेशको हेटौडामा शुक्रबार मुख्यमन्त्रीहरुको बैठक बसेको थियो।
मुख्यमन्त्रीहरूले सङ्घीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण नेपाल सरकारको मात्र एकल दायित्व नभएर सङ्घीय संसद र राजनीतिक दलहरूको साझा दायित्व भएकोमा जोड दिँदै राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीले समन्वय गर्नुपर्ने बताए ।
मुख्यमन्त्रीहरूसँग भेट गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले सङ्घीय कानुनहरू निर्माणका निम्ति आफू गम्भीर रूपमा लागिरहेको बताए ।
उनले भने, ‘‘तपाईहरू सबै जानकार नै हुनुहुन्छ। मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरेको थिएँ, त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ। त्यसलाई संविधानमा लिपिवद्ध गर्नसमेत मैले भूमिका खेलेको छु, नेतृत्व लिएको छु। त्यसैले सङ्घीयता कार्यान्यवन मेरो सबैभन्दा ठूलो चासो र प्राथमिकताको विषय हो। खाली यो कसरी कार्यान्वयन गर्ने, संसदमा सहभागी सबै दलहरूलाई पनि सहमत गराएर कसरी अगाडि बढ्ने भन्ने विषयले मात्र समय लिएको हो।’’