विराटनगर : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशी प्रदेशको वेवसाइटमा सार्वजनिक विवरण अनुसार हालसम्म प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको सचिवालयमा ९ जना नियुक्त भएका छन् ।
असोज २७ गते प्रदेशको मुख्यमन्त्री बनेका कार्कीले विभिन्न मितिमा आफ्नो सचिवालयमा कर्मचारी नियुक्त गरेका हुन् । मुख्यमन्त्री कार्यालयले भने बिहीबार मात्रै सचिवालयको विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री कार्कीको जनसम्पर्क सल्लाहकारमा लिलावल्लभ घिमिरे नियुक्त भएका छन् । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्षसमेत रहेका घिमिरेलाई सहसचिव सरहको सेवासुविधा पाउने गरी जनसम्पर्क सल्लाहकारमा नियुक्त गरिएको हो ।
मुख्यमन्त्रीको प्राविधिक सल्लाहकारमा इञ्जिनियर खगेन्द्र कर्ण नियुक्त भएका छन् भने प्रेस सल्लाहकारमा देवनारायण शाह नियुक्त भएका छन् ।
मुख्यमन्त्री कार्कीले प्रमुख स्वकीय सचिवमा कृति भुषण बस्नेतलाई नियुक्त गरेका छन् । कार्कीको निजी सचिवमा भुपेन्द्र खनाल र स्वकीय सचिवमा दिवश राजवंशी नियुक्त भएका छन् ।
यस्तै हलुका सवारी चालकमा अशोक राजवंशी, कार्यालय सहयोगीमा बिक्रम राजवंशी र आवास सहयोगीमा रेनुका पण्डित नियुक्त भएकी छन् ।
कार्यालयले सार्वजनिक गरेको विवरणको उनीहरुको नियुक्त भएको मिति भने खुलाइएको छैन् । यद्यपि सचिवालयमा नियुक्त भएका अन्य कर्मचारीको विवरण भने वेवसाइटमा उल्लेख छैन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाँकी कर्मचारीको सबै विवरण नआइसकेकाले विवरण सार्वजनिक गर्न ढिलाइ भएको छ ।