विराटनगर : आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरुको नाम केन्द्रीय समितिमा सिफारिस गरेको छ ।
मंगलबार विराटनगरमा बसेको प्रदेश समितिको बैठकले ६३ जनाको नाम सिफारिस गरेको हो ।
राष्ट्रिय सभाका लागि कोशी प्रदेशमा दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । एक जना खस आर्य र खस आर्य महिला गरी दुई जनाको पदावधि आगामी फागुन २० गते सकिँदैछ । दुई पदका लागि कांग्रेसमा ६३ जना आकांक्षी देखिएका हुन् ।
प्रदेश समितिले नजिल्लाबाट आएका नामलाई क्रमैसँग राखेर केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको महामन्त्री भूपेन्द्र राईले जानकारी दिए ।
कांग्रेसका अनुसार झापाका कृष्णप्रसाद सिटौला र महिलातर्फ मोरङकी सुजाता कोइरालाको नाम पहिलो नम्बरमा राखेर सिफारिस गरिएको छ ।
यस्तै महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजङ्ग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला सङ्ग्रौला र रुक्मिणी कोइरालालगायतको नाम पनि प्रदेश समितिले सिफारिस गरेको छ ।
पछिल्लो समय कांग्रेसमा अघिल्लो चुनावमा उम्मेदवार बनेर पराजित बनेका नेताहरूलाई राष्ट्रियसभामा लानुहुँदैन भन्ने आवाज उठिरहेको छ । तर, कोशी प्रदेश समितिले भने चुनाव हारेकाहरुलाई पहिलो नम्बरमा सिफारिस गरेको छ ।
पहिलो नम्बरमा सिफारिस भएका कृष्णप्रसाद सिटौला र सुजाता कोइराला प्रतिनिधिसभाको निर्वाचनमा पराजय भएका थिए ।
सिटौला झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन भने र सुजाता मोरङ २ मा एमालेका ऋषिकेश पोखरेलसँग पराजित भएकी थिइन् ।