पाँचथर : नेकपा एमाले केन्द्रीय सदस्य वसन्तकुमार नेम्वाङले बन्द र हडतालले कुनै पनि समस्याको समाधान ननिस्कने बताएका छन् ।
नेकपा एमालेले सञ्चालन गरेको झुला घाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको एक दिन बाँकी रहँदा शनिवार पाँचथरमा हुन लागेको सभाको सन्दर्भमा सो जिल्लाबाट निर्वाचित प्रतिनिधि समा सदस्य समेत रहनुभएको नेम्वाङले बन्द, हडताल लगायतको सबै कार्यक्रम फिर्ता लिएर शान्तिपूर्ण र संविधानको बाटोबाट समस्याको समाधान खोज्न कथित पहिचानवादीलाई आग्रह गरे ।
कुनै समस्या छन् भने संवैधानिक र राजनीतिक रूपले शान्तिपूर्ण ढङ्गले समाधान गर्नुपर्ने बताए । उनले भने, यो बाटै ठिक होइन, समस्या छन् । संवैधानिक र शान्ति पूर्ण र ठिक बाटोबाट समाधान खोजिनु पर्छ’, ।
नेकपा एमालेको सङ्कल्प यात्राको पाँचथरमा हुने सभालाई सफल बनाउन सहभागिताको लागि सबैमा आह्वान गरे । सो सभा पाँचथर जिल्लाको प्रतिष्ठाको विषय भएको प्रस्ट पारे । जनताको कार्यक्रममा सहभागिता जनाउने इच्छालाई कुण्ठित नगर्न पर्न पनि चेतावनी दिए । एमालेको सभामा सहभागी हुन आउन लागेका जनतालाई ठाउँ ठाउँमा रोकेको भन्ने सूचना आएको बताउँदै त्यस्तो कार्य रोक्न नेम्वाङले आग्रह गरे ।
नेकपा एमालेले सञ्चालन गरेको यो अभियान कसैको विरुद्ध नभई राजनीतिकसँगै देशको समृद्धिको अभियान भएको उहाँले प्रष्ट पारे । ‘यो नेकपा एमालेको राजनीतिक अभियान मात्र होइन, मुलुकको समृद्धि र विकासको निम्ति थालिएको महाअभियान हो’, उनले भने ।