Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कनिष्ठलाई प्रधानाध्यापक बनाउन खोज्दा लफडा



विराटनगर : मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ९ स्थित सिंहबाहिनी माविमा कनिष्ठलाई प्रधानाध्यापक बनाउने चलखेल सुरु भएपछि विवाद सिर्जना भएको छ ।

विद्यालय व्यवस्थापन समितिले पाचौँ रोक क्रममा रहेका उमेशकुमार खड्कालाई प्रधानाध्यापक बनाउन खोजेपछि विवाद भएको हो ।

विद्यालयका प्रधानाध्यापक सोमनाथ निरौलाले अनिवार्य अवकास पाएपछि सो विद्यालयमा केही समयअघि प्रधानाध्यापक भएका विष्णुभक्त भण्डारीले राजीनामा दिएपछि विद्यालयमा पढाई छाडेर ध्यान प्रधानाध्यापक नियुक्तीमा गएको हो ।
भण्डारीले दशैँतिहारको बिचमा राजीनामा दिएपछि विद्यालयमा व्यापक चलखेल भएको थियो । सिनियर शिक्षक दक्षमणी नेपाललगायत हुँदाहुँदै चौथो र पाचौँ नम्बरमा रहेका उपेन्द्र बस्नेत र उमेशकुमार खड्काले आफू प्रधानाध्यापक बन्न लबिङ गरेपछि विवाद भएको हो ।

उनीहरुले अत्याधिक चलखेल गरेपछि पहिलो, दोस्रो र तेस्रो मर्यदामा रहेकाहरुले अनिच्छा व्यक्त गरेपछि अहिले पाँचौँ नम्बरको खड्काको पल्लाभारी हुँदा बस्नेतले भने आफू चौथो नम्बरमा रहेको र अरुले दाबी छाडेकाले आफू नै हुनुपर्ने भन्दै लबिङ गरेका छन् ।

एकजना सिनियर दाबेदारले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘यो विषय नगरपालिकासम्म पुगेपछि अब सिनियरबाटै हुनुपर्छ भन्ने माग उठेको छ । कानुनतः पनि जुनियरले नपाउने अवस्था हो ।’

ती शिक्षकका अनुसार समझदारीपूर्ण अवस्थामा दिए सिनियर शिक्षकहरु प्रधानाध्यापक लिन राजी छन् ।

यसरी विद्यालयमा विवाद सिर्जना भएपछि शिक्षकहरुको ध्यान अन्तैतिर मोडिएको भनेर अभिभावकहरु चिन्तित बनेका छन् ।

एक जना स्थानीय अगुवाले भने, ‘यस्तो गतिविधि कदापी पनि राम्रो होइन । यसले विद्यालयको निर्माण र सञ्चालनमा अप्ठ्यारो स्थिति सिर्जना भइरहेको छ ।’

जिल्ला शिक्षा समन्वय एकाई मोरङका प्रमुख टंक गौतमले शिक्षा ऐनमा टेकेर बनेका शिक्षा नियमावली २०५९ जारी रहेकै अवस्थामा जथाभावी प्रधानाध्यापक नियुक्ती गर्न नसकिने बताए । काठमाडौँ महानगरपालिकाले पनि प्रधानाध्यापक नियुक्ती गर्न खोज्दा अदालतले रोकेको उदाहरण दिँदै उनले भने, ‘अब नयाँ कानुन आएको छैन् । स्थानीय स्तरमा बनेका निर्देशिका अनुसार जथाभावी प्रधानाध्यापक नियुक्ती भए उजुरी र हुने त्यसको छानविन गर्न सकिने अवस्था रहेको छ ।’

उनका अनुसार सिंहबाहिनी माविको प्रधानाध्यापकको प्रक्रिया सुरु नभएको र कनिष्ठलाई निमित्त दिने प्रक्रिया सुरु गरेकाले नै त्यहाँ विवाद भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार