Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेको सङ्कल्प यात्रामा सहयोग गर्न शेरधन राईको आह्वान



शेरधन राई । फाइल तस्बिर

विराटनगर : नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले पहिचानको आन्दोलन गरिरहेका आन्दोलनकारीहरूलाई एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको मध्य पहाडी लोक मार्गमा समृद्धिका लागि सङ्कल्प यात्रालाई सहयोग गर्न आह्वान गरेका छन् ।

देशको सबैभन्दा ठुलो पार्टीले केन्द्र स्तरबाट आयोजना गरेको अभियानलाई अवरोध गर्ने या विरोध गर्ने कार्यले पहिचान पक्षधरहरूलाई नै कमजोर बनाउने बताउँदै उनले अभियानको विरोध नगर्न आह्वान गरेका हुन् ।

भोजपुरमा रहेका राईले पत्रकारसँग कुराकानी गर्दै नामकरणको सवाल प्रदेशसभा र प्रदेश सरकारसँग जोडिएको बताउँदै राष्ट्रिय अभियानसँग जोडेर यसको आलोचना या विरोध गर्न नहुने बताए।

उनले पहिचानको आन्दोलन गरिहरेका समूहहरूसँग वार्ता र संवादबाट नै समस्या हल गर्न सकिने बताउँदै यसको लागि प्रदेशका दल र सरकार जिम्मेवार भएर लाग्नुपर्ने विचार व्यक्त गरे ।

एमालेको सङ्कल्प अभियानको तयारी व्यापक रूपमा भइरहेको सन्दर्भमा यसलाई अवरोध वा विरोध नगर्नका लागि आफूहरूले सम्बद्ध पक्षहरूसँग छलफल गरिरहेको राईले बताए ।

मङ्सिर २६ गते घुर्मीमा एमाले सङ्कल्प यात्रा आएपछि कोशी प्रदेशमा प्रवेश हुनेछ । यसका लागि ठाउँ ठाउँमा स्वागत र सभाहरू गरिने कार्यक्रम तय छ ।

नेता राईले विभिन्न पालिकाहरूले समेत यात्रामा आफ्ना मागहरू राख्ने कार्यक्रम तय गरेका छन् । भोजपुरमा प्रदेश सरकारले निर्माण गरेको रङ्गशालासमेत उद्घाटन गर्ने र टक्सारको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार