विराटनगर : नेकपा एमालेनिकट अनेरास्ववियु मोरङले एनसेलको सेयर खरिदबिक्री विरुद्ध विराटनगरमा विरोध प्रदर्शन गरेको छ । बुधबार विद्यार्थीहरूले विराटनगरको महेन्द्र चौकमा एनसेलको सेयर खरिदबिक्री चलखेलविरुद्ध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरु नो ट्याक्स, नो सिम रिजेक्ट एनसेल, कर छलि गर्नेलाई कारबाही गर,पुँजीगत लाभरक छल्न पाइदैन, आय व्यय सार्वजनिक गर, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, विवादास्पद एनसेल सेयर विक्रीको छानबिन गरजस्ता नारा लेखिएका प्लेकार्डहरू लिएर विरोधमा उत्रिएका थिए ।
अनेरास्ववियु मोरङका सचिव विरेन्द्र घिमिरेले एनसेलले समयमै कर तिरेर कानुनी प्रक्रियाबाट शेयर खरिदबिक्री गर्नुपर्ने बताए । उनका अनुसार जिल्लाभर थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन हुनेछन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको सहमतिबिना आजियाटाले सतिशलाल आचार्यबीच सेयर खरिद बिक्रीको सहमति भएको हो । एनसेलबाट आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियाटा र आचार्यबीच सेयर खरिदबिक्रीको सहमति भएको हो। यसको विरुद्ध अहिले चौतर्फी आलोचना भइरहेको छ ।