Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

मुख्यमन्त्री कार्कीलाई ओखलढुंगा प्रवेशमा रोक



विराटनगर : कोशी नामकरणविरुद्ध असन्तुष्टि राख्दै आएका पहिचानवादी समूहले प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सांसदहरुलाई कांग्रेस ओखलढुंगाले आयोजना गरेको कार्यक्रममा सहभागी नहुन चेतावनी दिएका छन् ।

नेपाली काँग्रेस ओखलढुंगाद्वारा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस जिल्ला सम्मेलनमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, संसदीय दलका नेता उद्धव थापा र सोही क्षेत्रका प्रदेश सांसद प्रदीप सुनुवारलाई सहभागी नहुन प्रदेश नं १ पुनः नामांकन संयुक्त सङ्घर्ष समितिले चेतावनी दिएको हो ।

उक्त कार्यक्रममा सहभागी हुने पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र वरिष्ठ नेता डा. शेखर कोइरालालाई भने कुनै रोकछेक नहुने समितिले जनाएको छ ।

सोमबार समितिले विज्ञप्ती जारी गरेर उनीहरुलाई कार्यक्रममा सहभागी नहुन भनेको छ । जबरजस्ती सहभागी हुन खोजे प्रतिरोध गर्ने समितिको चेतावनी छ ।

समितिले ‘कोशी’ नाम खारेजीलाई गम्भीर रूपमा कार्यान्वयन गर्नुको सट्टा सङ्घर्ष समितिलाई चिढ्याउने भ्रमणको प्रचारले स्थानीयमा आक्रोश पैदा भएको जनाएको छ ।

विज्ञप्तीमा नेपाली कांग्रेसकै १४ जिल्ला सभापतिहरूले संयुक्त विज्ञप्ति प्रकाशन गरेर ‘कोशी’ नाम बारे पुनर्विचार गर्न दिएको सुझाब स्मरण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार