विराटनगर : कोशी प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ स्वीकृत गरेको हो।
यसअघि उक्त अध्यादेश अस्वीकृतको माग गर्दै सत्ता गठबन्धन दलमा आबद्ध सांसदहरूले प्रदेशसभा सचिवालयमा दर्ता गरेको सूचना सांसद नारायणबहादुर बुर्जा मगरले फिर्ता लिएका थिए। उक्त सूचना फिर्ता लिएसँगै अध्यादेश स्वीकृत भएको हो।
यस्तै प्रदेशसभाको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा प्रस्तुत भएको छ।