विराटनगर : कोशी प्रदेशका विनाविभागीय मन्त्री रामबहादुर रानाले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री केदार कार्कीले एमालेको सहमति विपरीत कोशीमा नेकपा माओवादी र नेकपा एसलाई सरकारमा सहभागी गराएको भन्दै एमालेका रानाले शनिबार बिहान पदबाट राजीनामा दिएका हुन् ।
मुख्यमन्त्री कार्कीले शुक्रबार माओवादीका गणेश उप्रेती र एकीकृत समाजवादीका कमलप्रसाद जबेगुलाई मन्त्री बनाएपछि असन्तुष्ट हुँदै एमालेले सरकार छाडेको हो ।
नैतिक हिसाबले मन्त्रिपरिषद्मा बसिरहन उचित नभएपछि मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाएका रानाले जानकारी दिए ।
उनले भने, ‘हाम्रो दलको चाहना विपरीत मुख्यमन्त्रीले अन्य दललाई सरकारमा सहभागी गराएपछि हामीले नैतिक हिसाबले त्यहाँ बसिरहन उपयुक्त नभएपछि राजीनामा दिएर सरकारबा बाहिरियौँ ।’
कार्की नेकपा एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् । असोज २७ गते एमालेका ३९ र कांग्रेसमा विद्रोह गरेका शेखर कोइराला पक्षधर ८ सांसदले हस्ताक्षर गरेपछि उनी मुख्यमन्त्री बनेका थिए ।
गठबन्धन र पार्टीको निर्णय विरुद्ध विद्रोह गर्दै एमालेको सहयोगमा मुख्यमन्त्री बनेपनि उनलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएका थिए ।
मुख्यमन्त्री बनेपछि कार्कीले सहयोगी दल नेकपा एमालेबाट राम राना र आफूसँगै विद्रोह गरेका कांग्रेसका शमशेर राईलाई विना विभागीय मन्त्री बनाएका थिए ।
कार्कीलाई पछिल्लो समय एमालेले आफ्ना केही सांसदलाई मन्त्री बनाउन र कांग्रेसबाहेकका दललाई सरकार सहभागी नगराउन दबाब दिँदै आएको थियो । तर, दबाबका बिच शुक्रबार आफूलाई मुख्यमन्त्री बनाएको एमालेको सहमति विपरीत गठबन्धनलाई सरकारमा सहभागी गराएपछि एमालेले सरकार छाडेको हो ।