विराटनगर : बुधवार कोशी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिन पेस गरेको प्रस्तावमा मतदान हुँदै गर्दा एउटा रोचक दृश्य देखा पर्यो – ‘सांसदले मोवाइल निकालेर फोटो भिडियो खिचेको’।
मतदान चलिरहँदा सभामुखको आसनमा रहेकी उपसभामुख सिर्जना दनुवारले कांग्रेस सांसद ममता तामाङको खुट्टामा समस्या भएका कारण अगाडि आएर मतदान गर्न असहज हुने भन्दै सचिवालयका कर्मचारीलाई उनी बसेकै स्थानमा मतदान गराउन निर्देशन दिइन् ।
उनको निर्देशनपछि सचिवालयका कर्मचारीले उनी बसेको स्थानमा मतदान गर्न लगाए । तर, कर्मचारी त्यहाँ आइपुग्दा नेकपा एमालेकी सांसद मिना क्षेष्ठले फोटो र मिडियो खिच्नका लागि मोबाइल तेर्स्याइरहेकी थिइन् । क्षेष्ठले संसदीय मर्यादा विपरीत सभा सञ्चालन भइरहँदा फोटो र भिडियो खिचेकी हुन् ।
उनले त्यसपछि सभा कक्षमा वरिपरि मोबाइल घुमाएर फोटो र भिडियो खिच्छिन् ।
यस विषयमा क्षेष्ठसँग प्रतिक्रिया लिन खोज्दा उनले आफूलाई फोटा खिच्न हुन्छ कि हुँदैन भन्ने थाहा नभएको बताइन् । उनले पूर्वेलीप्रेससँग भनिन्, ‘मलाई बैठक चलिरहँदा मोबाइलबाट फोटो भिडियो खिच्न हुन्छ कि हुँदैन भनेर थाहा थिएन । किनकि हामी नयाँ सांसद पनि हौँ ।’
उनले अगाडि भनिन्, ‘उहाँ (ममता तामाङ) ले मेमोरी हुन्छ खिचिदिनु भनेपछि मैले खिचेको हो । मलाई यसबारेमा अरू थाहा थिएन ।’
प्रदेशसभा नियमावली २०७५ मा सभामुखको आसन तथा बोलिरहेका सांसदको बिचबाट हिँड्न नहुने प्रावधान छ । नियमावलीको नियम १९ को (झ) मा भनिएको छ, ‘ बैठक कक्षमा फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने । बुधवारको प्रदेशसभामा यही नियम उल्लङ्घन भएको हो ।
श्रेष्ठको अमर्यादित क्रियाकलापविरुद्ध सभामुखको आसनमा रहेकी दनुवारले रुलिङसम्म पनि गरिनन् ।
प्रदेशसभा नियमावली अनुसार प्रदेशसभा बैठकमा सांसदहरूले यस्ता १० वटा नियम पालना गर्नुपर्ने हुन्छ ।
१. सभामुख बैठक कक्षमा प्रवेश गर्दा सबैले उठेर सम्मान प्रकट गर्नुपर्ने
२. सभामुखले बैठकप्रति सम्मान प्रकट गरी आफ्नो आसन ग्रहण गर्नुपर्ने,
३. बैठक स्थगित भई सभामुख बैठकबाट बाहिर निस्के पछि मात्र सदस्यले बैठक कक्ष छाड्नुपर्ने
४. सभामुखले समय दिएपछि मात्र बोल्नुपर्ने
५. बैठकमा भाग लिने सदस्यले बोल्दा सभामुखलाई सम्बोधन गरेर बोल्नु पर्ने र सभामुखले अन्यथा आदेश दिएमा बाहेक उभिएर बोल्नु पर्ने
६. सभामुखले बैठकलाई सम्बोधन गरिरहेको समयमा कुनै पनि सदस्यले स्थान छाड्न नहुने र सभामुखले बोलेको कुरा ध्यानपूर्वक सुन्नुपर्ने
७. सभामुखको आसन तथा बोलिरहेका सदस्यको बिचबाट हिडँन र सभामुखको आसनतर्फ पिठ्यूँ फर्काएर बस्न नहुने
८. कुनै सदस्यले बोलिरहेको समयमा वाधा पुग्ने वा बैठकको मर्यादा भङ्ग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने,
९. बैठकको कार्यसँग प्रत्यक्ष रूपले सम्बन्धित विषय बाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने
१०. बैठक कक्षमा फोनमा कुरा गर्न र रेकर्ड गर्न नहुने ।