विराटनगर : कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिएका छन् । थापाले शनिबार पदबाट राजीनमा दिएका हुन् ।
थापाले गठबन्धनको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै दलका नेताबाट राजीनामा दिएको बताएका छन् ।
गठबन्धनले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति गरेपनि कांग्रेससँग विद्रोह गर्दै केदार कार्की एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि उनले राजीनामा दिएका हुन् ।
‘मैले पाएको अवसरलाई गुमाएँ, अदालतले मलाई मुख्यमन्त्रीबाट हटायो । त्यतिबेलै मैले राजीनामा दिनुपर्थ्यो,’ उनले भने, ‘पछिल्लो समय कोशी प्रदेश सरकार निर्माण प्रक्रियामा भएका विकसित घट्नाक्रमले गर्दा नैतिक रूपमा मैले संसदीय दलको नेताको रुपमा बसिरहन उपयुक्त नभएको महसुस गरे । आजको मितिदेखि लागू हुने गरी मैले नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको नेताको पदबाट राजीनामा दिइएको जानकारी गराउँदै दलको नीति, सिदान्त र आदर्श प्रति प्रतिवद्ध रहँदै आगामी दिनमा क्रियाशील रहिरहने छु ।’
यसअघि संसदीय दलका उपनेता हिमाल कार्कीले पनि पदबाट राजीनामा दिइसकेका छन् ।
