Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले सांसद सुवेदीले एक घण्टा ढिलो गर्दा….



एमाले सांसद ज्ञानेन्द्र सुवेदी

विराटनगर : शनिवार बिहान केदार कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा पुगे पनि एमालेका एक जना सांसद नपुगेपछि केही बेर खैला बैला मच्चियो ।

कोशीका प्रदेश प्रमुखले शनिवार बिहान ८ बजेदेखि २ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गरेकालाई कार्यालयमै हस्ताक्षर गराउने सूचना प्रकाशित गरेपछि सबै सांसदहरू पुगे पनि एमालेका ज्ञानेन्द्र सुवेदी पुगेनन् ।

एमाले संसदीय दलले सांसदहरूलाई विराटनगर नछोड्न र बिहान साँढे सातै बजे प्रदेश प्रमुखको कार्यालयमा पुग्न निर्देशन दिएका थियो । तर, सबै सांसद प्रमुखको कार्यालयको सभा हलमा पुगे पनि टाउको गन्न थाले पनि सुवेदी भेटिएनन् । अनि सबै सांसद र एमाले नेताहरूले उनी कहाँ छन् भनेर खोजी गर्न थाले ।

त्यसपछि फोन सम्पर्क भएकालाई उनले आउँदै छु, बाटोमा छु भन्दै भनिरहे पनि यता नेताहरू भने आत्तिएका थिए ।

एमालेका सचेतक रेवती रमण भण्डारीले उहाँको सामान्य काम परेकोले ढिलो भएको जानकारी दिए पनि सांसदहरू भने आत्तिएका थिए । उनी बेलुका घर बेलबारी गएका र आउँदा घरायसी कामले ढिला भएको भण्डारीले बताए ।

प्रदेश प्रमुख आएर सभा हलको अगाडि बसेर हस्ताक्षर गराउन थालेपछि बल्ल सुवेदी कार्यालयको सिँढी चढे । त्यसपछि ताली बजाउँदै उनलाई भित्र पसाए ।

प्रदेश प्रमुखकोमा पहिला काँग्रेसका सांसद र त्यसपछि एमालेका सांसदले हस्ताक्षर गरेका थिए । केदार कार्कीलाई मुख्यमन्त्री दाबी पेस गर्दा ४७ जना सांसदले हस्ताक्षर गरेको र एक जना नपुग्दा पनि सरकार नबन्ने अवस्था थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार