विराटनगर : नेकपा एमाले ताप्लेजुङका जिल्ला उपसचिव मणीशंकर पोमुले विद्यार्थी कार्यकर्ताहरूलाई कुटपिट गर्दै घरघरमा गएर खुकुरी देखाएर धम्क्याएपछि अनेरास्ववियुको अधिवेशन स्थगित भएको छ ।
अनेरास्ववियु जिल्ला कमिटीको अधिवेशन असोज २४ र २५ गते गर्ने तयारी पुरा भइसकेको अवस्थामा पोमुले विद्यार्थी नेता कार्यकर्तालाई हप्काउने, कुट्ने र परिवारलाई समेत धम्की दिने गरेपछि अधिवेशन स्थगित भएको अनेरास्ववियुका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
लामो समयदेखि अनेरास्ववियु ताप्लेजुङको गतिविधि हुन नसकेको र कमिटीहरूसमेत बन्न नसकेको अवस्थामा कमिटीहरू निर्माण गर्दै अधिवेशनको अन्तिम तयारी भइसक्दा आफ्नै नेताको असुरक्षाका कारण अधिवेशन स्थगित गर्नुपरेको विद्यार्थीहरूको भनाइ छ ।
अनेरास्ववियुका नेताहरूका अनुसार गत शनिवार ताप्लेजुङको फुङलिङ नगर कमिटीको अधिवेशनमा उपसचिव पोमुले भनेका व्यक्तिहरू कमिटीमा नअटाउने अवस्था आएपछि झापाबाट गएका विद्यार्थी नेता सन्दीप श्रेष्ठलाई होटेलमै खुकुरी देखाएर कुटपिट गरेका थिए । उनको अहिले झापामा उपचार भइरहेको छ ।
होटेलमा रहेका अन्य विद्यार्थीलाई पनि खुकुरी देखाएर यहाँ मनपरी गर्ने भन्दै पोमुले धम्क्याएको विद्यार्थीहरूले बताएका छन् ।
उनले पूर्व केन्द्रीय सदस्य नारद गुरागाईँ, विद्यार्थी इन्चार्ज लेखनाथ भट्टराई लगायतलाई घरमा जाने धम्क्याउने र परिवारलाई त्रासमा राखेको बताइएको छ ।
विद्यार्थीहरू आफ्नै पार्टीका नेताबाट कुटाइ खाने र विस्थापित हुने खतरा आएपछि अधिवेशन स्थगित भएको नेताहरूको गुनासो छ ।
ताप्लेजुङमा पछिल्लो समय क्याम्पस कमिटी र पालिका कमिटीहरू निर्माण भइसकेका छन् ।
यस विषयमा बुझ्न खोज्दा मणीशंकर पोमुले फोन यस्ता कुरा कसले भन्यो भन्दै फोन काटिदिए ।