विराटनगर : कोशी प्रदेशमा सहकार्य गरेर अघि बढ्न प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रस्ताव राखेका छन् ।
प्रचण्ड र लिङ्देनबीच मंगलबार दिउँसो भेटवार्ता भएको थियो ।
भेटमा प्रचण्डले कोशी प्रदेशमा सत्ता सहकार्यको प्रस्ताव राखेपनि लिङ्देनले ठोस जवाफ दिएका छैनन् । कोशीमा अहिले राप्रपाले गठबन्धनलाई सहयोग गरे त्यहाँ गठबन्धनको नेतृत्वमा सहज सरकार बन्ने अवस्था छ ।
राप्रपालाई यसअघि पनि प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पटकपटक सत्ता सहकार्यको प्रस्ताव राखेपछि लिङ्देनले त्यसलाई अस्वीकार गर्दै आएका छन् ।
कोशीमा संविधानको धारा १६८ को उपधारा ३ अनुसार बनेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेसँगै अब नयाँ सरकार गठनको रस्साकस्सी चलिरहेको छ । कार्कीले असोज २० गते विश्वासको मत पाउने आधार नदेखेपछि पदबाट राजीनामा दिएका थिए । कोशीमा अब १६८ को ५ बमोजिम सरकार बन्नेछ । सरकार गठनको यो अन्तिम विकल्प हो । यो धारामा पनि सरकारले विश्वासको मत प्राप्त नगरे मध्यावधि हुन्छ । तर, प्रदेशमा भएका दलहरु अहिलेनै मध्यावधि चुनावमा जाने अवस्थामा छैनन् । राप्रपा स्वयमपनि मध्यावधि निर्वाचन गर्नुहुँदैन भन्ने पक्षमा छ ।