माओवादी संसदीय दलका नेता इन्द्र आङ्बो
विराटनगर : नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेका छन् । शनिबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्रीको चर्चा चल्न सुरु भएको छ ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री भएका काँग्रेस संसदीय दलका नेता उद्धब थापालाई दुबै पटक सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो । थापाको पदमुक्तिसँगै सर्वोच्चको परमादेश अनुसार धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज राजीनामा दिएपछि अब उपधारा ५ अनुसार सरकार बनाउन आङ्बोले नेतृत्व दावी गरेका हुन् ।
आङ्बोले गठबन्धनका तर्फबाट अब आफू मुख्यमन्त्री बन्नुपर्ने बताए । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन आफूहरुले धेरै त्याग गरेको बताउँदै उनले अब माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने बताए ।
उनले भने, ‘नेपाली कांग्रेसले दुई दुई पटक सरकार बनाए पनि विश्वासको मत प्राप्त गर्न सकेन । अब हाम्रो दाबी रहन्छ ।’
आफ्नो नेतृत्वमा सरकार बने बहुमत पुग्ने र विश्वासको मत पनि प्राप्त गर्न सक्ने उनको दाबी छ ।