विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज विश्वासको मत लिँदै छन्। दिउँसो १ बजे विश्वासको मत लिनेगरी प्रदेशसभाको बैठक आह्वन गरिएको छ ।
संविधानको धारा १६८ को ३ अन्तरगतको व्यवस्था अनुरुप संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्की भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
कार्कीले आफूलाई विश्वासको मत दिन प्रदेशसभामा रहेका सबै दलका नेताहरुलाई पत्र लेख्दै अनुरोध गरेका छन् ।
प्रदेशमा स्थिर सरकार र स्थायित्व कायम गर्नका लागि आफूलाई मतदान गर्न कार्कीको अनुरोध छ ।
उनले दलहरुलाई पठाएको पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा नेपालको संबिधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्री म हिक्मतकुमार कार्कीले १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट विश्वासको मत लिन प्रदेश सभा नियमावली, २०७४ (पहिलो संशोधन सहित) को नियम १२८ को उपनियम (१) र () बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्न कोशी प्रदेश सभा सचिवालयमा सूचना दर्ता गराएको हुँदा उक्त प्रस्तावको पक्षमा मतदान गरी विश्वासको मत दिनुहुन तपाईको दल समक्ष हार्दिक अनुरोध गर्दछु । साथै, विश्वासको पक्षमा तपाईंको दलको तर्फबाट दिनु भएको मतले प्रदेश संरचनाको स्थायित्व र दलिय सहकार्य एवम् सद्भावमा ठोस योगदान पुग्ने विश्वास लिएको छु ।’
कार्कीको पक्षमा विश्वासको मत नपुगेको अवस्थामा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेशसभाका सदस्यमध्ये जसले ४७ पुर्याएर दाबी पेस गर्छ उही नै मुख्यमन्त्री हुनेछ । यो दफामा दलीय ह्वीप लाग्नेछैन् ।
प्रदेशसभामा एमालेको उपसभामुखसहित ४०, काँग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी) को ४ र जसपाको १ सांसद गरी ९३ सदस्यीय प्रदेशसभा छ । सरकार गठनका लागि भने बहुमत पुर्याउन ४७ सांसद आवश्यक पर्छ ।