गणेश उप्रेती ‘शुशिल’
यादहरु त निर्दोष छन !
दोष त याद आउनेहरु ,
जो दृश्य छैनन् ।
जस्तै सहिदहरु , बेपत्ताहरु !
सपनासङै देख्नेहरु,
कल्पनामा हाराईदिनेहरु।
परसम्म पुगौ भन्दै ,
हात समाइ प्रेम गीत गाउनेहरु !
वाचा कसम बाधेर ,
जिउ ज्यान मास्नेहरु ।
यादहरु त फिका छन!
दोष त रङ बदल्नेहरु,
लामो यात्रा तय गरेर,
बिचमै पाइला मोडनेहरु।
यादहरु कोमल छन!
दोष त धोकेबाजहरु,
प्रतिबद्धता बिर्सेर,
आफ्नै आगन सिङार्नेहरु।
कति मिठो छ सन्सार!
यादहरुको,
समाजबाद, साम्यबाद!
अनि मर्नेहरु !
र मर्दै बाच्नेहरु !!
अब यादहरुको ,
एउटा बिद्रोह यादहरुमा।
सायद सुन्यताको !
वा जिउदा लासहरुको,
अन्तिम सलामीको !
यादहरु कहिलै ,
मर्न मान्दैनन!
धोका सहेर ।