विराटनगर : नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । एमाले गण्डकीको प्रथम प्रदेश अधिवेशनबाट शर्मा प्यानलसहित निर्वाचित भएका हुन् ।
शर्मा ५३१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । शर्माले अधिकारीलाई १६६ मतले पछि पारे ।
प्रदेशको निवर्तमान अध्यक्षसमेत रहेका शर्मा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट हुन् । यता पराजित हुने अधिकारी महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी समूहका हुन् ।
गण्डकीमा पीएसलाई एक्ल्याउन महासचिव पोखरेल सक्रिय भएपनि प्रदेश कमिटीको सबै पदाधिकारीमा पीएस समूहको प्यानलनै निर्वाचित भएको छ ।
यस्तै उपाध्यक्षमा स्याङ्जाका मिनप्रसाद गुरुङ ५३४ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्दी अधिकारी प्यानलका नवलपुरका बाबुराम विश्वकर्माले ३६२ मत प्राप्त गरेका छन् ।
सचिवमा पनि नवराज शर्मा प्यानलकै लमजुङका धनञ्जय दवाडी निर्वाचित भएका छन् । उनी ५२० मतका साथ सचिवमा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कास्कीका रश्मी आचार्यले ३६७ मत पाए ।
प्रदेशको दुई उपसचिवमा पनि शर्मा प्यानलमा दामबहादुर विक र मन्जु अधिकारी विजयी भएका छन् ।