मतगणना स्थल
विराटनगर : नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणनामा ढिलाइ भएको छ । आज दिउँसो १ बजेबाट मतगणना गर्ने तयारी भएपनि व्यवस्थापन पूरा नहुँदा अझै केही समय लाग्ने निर्वाचन कमिटीले जनाएको छ ।
निर्वाचन कमिटीका प्रमुख चुडामणि आचार्यका अनुसार कुल मतदाता ९९७ मध्ये ९७७ जनाले मतदान गरेको छन् । मतदान प्रक्रियामा २० जना अनुपस्थित भएका थिए ।
निर्वाचन कमिटीका अनुसार मतगणना सुरु गर्न अझै एक घण्टा समय लाग्नेछ । ७ स्थानमा मतगणना हुनेछ । मतगणनाका लागि अध्यक्ष उम्मेद्वारले १०/१० जना प्रतिनिधि राख्न पाउनेछन् भने पदाधिकारीका उम्मेदवारले मतगणना हेर्न सक्नेछन् ।
शुक्रबारदेखि विराटनगरमा जारी एमाले कोशीको प्रथम अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छ । तर, उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङसहित ७३ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन कमिटीले यसको औपचारिक घोषणाा गर्न बाँकी छ ।
७३ जना निर्विरोध भएपछि १४२ पदका लागि ३१८ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।
प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् । सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा, उपसचिवमा खोटाङका देवान राई, झापाकी जलवर्षा राजवंशी र मोरङका खेम नेपाली प्रतिस्पर्धामा छन् ।