Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशी अधिवेशन : उम्मेदवार भोट माग्न व्यस्त, छैन् निर्वाचनको टुंगो



विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन विराटनगरमा चलिरहेको छ ।

शुक्रबारदेखि जारी अधिवेशनले प्रदेश कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।

ढकाल र खतिवडा दुवै केपी शर्मा ओली निकट हुन् । ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुन् ।

उनीहरू दुवै जनाले अहिले आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । अधिवेशन स्थलमा उपस्थित भएका विभिन्न जिल्लाका प्रतिनिधिहरुसँग उम्मेदवारहरुले भोट मागिरहेका छन् ।

पार्टीले घोषितरुपमा प्यानल नबनाउन भने पनि नेताहरूको पहलमा प्यानल बनिरहेको छ । आजै नेतृत्वको लागि मतदान हुनुअघि लिस्ट बनाएर मतदातालाई बाँड्न थालिएको छ ।

उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् । उनलाई दुवै समूहले आफ्नो प्यानलमा राखेका छन् ।

ढकाल प्यानलबाट सचिवमा उदयपुरका शैलेस लामा छन् । खतिवडा प्यानलबाट सचिवमा पाँचथरका राजकुमार भण्डारी छन् । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।

दुई उपसचिवका लागि चार जनाले मनोनयन दर्ता गरेपनि संखुवासभाका भविश्वर गुरुङले उम्मेदवारी फिर्ता लिएका छन् ।

उपसचिवमा मोरङका खेम नेपाली ढकाल प्यानलमा छन् भने खोटाङका देवान राई र झापाकी जलबर्षा राजवंशी खतिवडा प्यानलमा छन् ।

उम्मेदवारहरले प्यानल बनाएर भोट मागे पनि निर्वाचनको टुंगो लागिसकेको छैन् । निर्वाचन समितिले मतदानको समय तोकेको छैन् । यद्यपि समितिले मतदानको तयारी लागिरहेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार