Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमाले कोशीको नेतृत्व चयनका लागि आज मतदान, को-को छन् मैदानमा ?



विराटनगर : नेकपा एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार आज  मध्यान्ह १२ बजेदेखि मतदान सुरु हुनेछ ।

शुक्रबारदेखि जारी रहेको एमाले कोशी प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष बन्नका लागि दुई जना मैदानमा छन् । मोरङका विनोद ढकाल र घनश्याम खतिवडा अध्यक्षको प्रतिस्पर्धामा छन् ।

ढकाल अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष, मोरङको पार्टी सचिव, दुई पटक जिल्ला अध्यक्ष भएका नेता हुन् । विराटनगर निवासी ढकाल पूर्वमा एमालेका प्रभावशाली नेता मानिन्छन् । उनी हाल एमालेका केन्द्रीय सदस्यसमेत छन् ।

खतिवडा भूमिगत कालदेखि नेकपा एमालेका समर्पित नेता हुन् । उनी मदन भण्डारीको कार्यकर्ताको रुपमा समेत काम गरेका र संघीय सांसद भइसकेका नेता हुन् । मोरङको लेटाङ निवासी खतिवडा पाका र पुराना नेताका रुपमा परिचित छन् । उनी २०७४ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं. १ बाट निर्वाचित सांसद हुन् ।

यस्तै उपाध्यक्षमा टिकाराम चेम्जोङको एकल उम्मेदवारी परेको छ । उनी अहिलेका पनि उपाध्यक्ष हुन् ।

सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीको उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका निवर्तमान उपसचिव हुन भने भण्डारी पाँचथरका पूर्व जिल्ला अध्यक्ष हुन् ।

दुई उपसचिवका लागि अहिलेसम्म चार जनाले मनोनयन दर्ता गरेका छन् । संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गरेका छन् ।

अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार