विराटनगर : नेकपा एमालेले संविधानसभाका अध्यक्ष एवम् पार्टीका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ ।
शुक्रबार एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने निर्णय गरेको हो ।
विचार गोष्ठीका लागि पार्टीका उपाध्यक्षहरुलाई प्रमुख वक्ताका रुपमा प्रदेशमा खटाइएको छ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ भन्ने विषयमा विभिन्न राजनीतिक दलका नेतालाई अतिथि वक्ताका रूपमा आमन्त्रण गरेर कार्यक्रम गर्ने एमालेले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासल, ललितपुरमा आयोजना गरिने विचार गोष्ठीलाई सम्बोधन गर्नेछन् ।
एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल मधेस प्रदेशको जनकपुरमा, कोशी प्रदेशको इलाममा उपाध्यक्ष रामबहादुर थापा, लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र कर्णाली प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा रहने छन् ।