फाइल तस्बिर : ओसिम आलम
विराटनगर : केन्द्रीय समिति विस्तार पछि नेकपा एकीकृत समाजवार्दी पार्टीभित्र विवाद सिर्जना भएको छ । पार्टीको विवाद सामाजिक सञ्जालमा छताछुल्ल भएको छ भने कतिपयले राजीनामा समेत दिएका छन् ।
अनेरास्ववियूका पूर्व सहसंयोजक ओसिम आलमले निरन्तर फेसबुकमा स्टाटस लेख्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । बिहीबार पार्टीले अन्तर पार्टी निर्देशन जारी गर्दै केन्द्रीय समितिमा मनोनीतहरुको नामावली र अरु गतिविधि सार्वजनिक गरेपछि कोशी प्रदेशमा स्थापित नेताका रुपमा चिनिएका आलमले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्, ‘अब जुन दिन योग्यता, क्षमता पुग्छ त्यही दिन भेटौला कमरेड । अहिले मेरो बायो डाटामा योग्यता पुगेको छैन् ।’
उनी केही दिनदेखि बिरामी भएर घरमा आराम गरिरहेका छन् । उनले प्रतिक्रिया पनि दिन चाहेका छैनन् । उनीभन्दा जुनियर गौतम राईलगायत केन्द्रीय सदस्यमा मनोनित भएका छन् । घनश्याम भुसालको जोडबलमा राई मनोनित भएका हुन् ।
आलमसँगै विद्यार्थी राजनीतिबाट विदाइ भएका अनेरास्ववियुका निवर्तमान अध्यक्ष सुदेश पराजुली भने केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
नेकपा एकीकृत समाजवादीका नेता महेश रेग्मी पार्टीमा पद नपाएपछि असन्तुष्ट हुने परिपाटी पुरानै भएको र त्यो एसमा पनि सरेर आएको बताउँछन् ।
अपानी जारी भएपछि केन्द्रीय सदस्य तथा लुम्बीनी प्रदेश सचिव राजु गुरुङ, सावित्री मल्लले राजीनामा दिइसकेका छन् । उनीहरुको राजीनामासँगै कोशी प्रदेशमा पनि असन्तुष्टि चरम बढेको छ ।
कोशी प्रदेशमा पूर्वमुख्यमन्त्री तथा केन्द्रीय सचिव राजेन्द्र राई त निरन्तर पार्टीको केन्द्रको बैठकमा अनुपस्थित भइरहेको छन् । पहिचानको विषयमा माधव नेपालसँग कुरा नमिलेपछि उनी मौन जस्तै छन् ।
नेकपा एस छाडेर कर्मचारीका नेता तथा पार्टीका अन्य नेता कार्यकर्ता पनि नेकपा एमालेमा फर्किने वा अरु कतै जाने भनेर दुविधामा रहेको एसका एक नेताले बताए । पछिल्लो समयमा एस छाड्ने लहर चलिरहेको बेला अपानीको निर्देशनपछि पार्टीमा थप आक्रोश पैदा भएको नेताहरु बताउँछन् ।