Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

विराटनगरमा आज रथयात्रा निकालिँदै, पाँच लाखबढी सहभागी हुने अनुमान



विराटनगरमा भएको रथयात्राको फाइल तस्बिर

विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा दिउँसो करिब ३ बजेदेखि सुरु हुनेछ ।
विराटनगरमा वि.सं. २०२५ सालदेखि निरन्तर हुँदै आएको रथयात्रामा यसपटक पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।
हरेक वर्ष श्री कृष्ण जन्माष्टमीको भोलीपल्ट विराटनगरमा राधाकृष्णको युगल जोडिको रथयात्रा निकाल्ने परम्परा छ । तर, कोरोना माहमारीका कारण दुई वर्ष रथयात्रा सामान्य खटयात्रामा सिमित थियो ।
विराटनगर १ मा रहेको राधाकृष्ण मन्दिर परिसरबाट सुरु गरेर रोडशेष चौक, बरगाछी चौक हुँदै मन्दिरमा पुरेर समापन गर्ने आयोजक समितिले जनाएको छ ।
वि.सं १९८८ मा मन्दिरबाट खटयात्रा सुरु भएको थियो । २०२५ सालदेखि रथयात्रा गरिँदै आएको छ । रथयात्रासँगै खटयात्रा पनि गराइनेछ । रथयात्रामा नेपाल र भारतका भक्तजनसँगै विभिन्न नगरका प्रमुख पनि सहभागी हुनेछन् । रथयात्रामा सहभागी हुन नेपालका विभिन्न जिल्लााका १३ वटा पालिकाका प्रमुखहरु विराटनगर आइसकेका छन् ।
रथयात्राको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।
जनसहभागिता अत्यधिक हुने रथयात्राको सुरक्षा व्यवस्था पनि मिलाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राको सुरक्षाका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार