Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

एमालेमा कोशीको अध्यक्ष हुन दौडधुप सुरु



विराटनगर : आगामी असोज १२ र १३ गते हुने नेकपा एमाले कोशी प्रदेश कमिटीको अधिवेशनबाट अध्यक्ष हुनका लागि नेताहरुको दौडधुप सुरु भएको छ । एमालेले प्रदेश अध्यक्षलाई पोलिट्ब्युरो सदस्य सरहको मान्यता दिएपछि यसका लागि नेताहरुले दौडधुप बढाएका हुन् ।

कोशी प्रदेश कमिटीको अध्यक्ष हुनका लागि हालसम्म चार जना नेता आकांक्षा देखाएका छन् । एमालेका केन्द्रीय सदस्य एवम् धनकुटा इन्चार्ज विनोद ढकाल देखि अहिलेका अध्यक्ष तुलसी न्यौपाने, उपाध्यक्ष टिकाराम चेम्जोङ र मोरङका पूराना नेता घनश्याम खतिवडा अध्यक्ष बन्ने लाइनमा छन् ।

आकांक्षीहरुमा विनोद ढकाल अनेरास्ववियुको केन्द्रीय उपाध्यक्ष, मोरङको पार्टी सचिव, दुई पटक जिल्ला अध्यक्ष भएका नेता हुन् । त्यस्तै वर्तमान अध्यक्ष न्यौपाने जिल्ला विकास समिति संखुवासभा सभापतिदेखि प्रदेश सांसद र प्रदेश मन्त्री भएका नेता हुन् ।

त्यस्तै चेम्जोङ संघीय सांसददेखि पार्टीको जिल्ला प्रमुखको रुपमा काम गरिसकेका धनकुटाका पुराना नेता हुन् । अर्का नेता खतिवडा भूमिगत कालदेखि नेकपा एमालेका समर्पित नेता हुन् । उनी मदन भण्डारीको कार्यकर्ताको रुपमा समेत काम गरेका र संघीय सांसद भइसकेका नेता हुन् ।

उनीहरुले प्रदेशको पार्टी अध्यक्ष हुनका लागि दाबी गरे पनि पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले ‘लाइन’ कसलाई दिन्छन् त्यसमा भर पर्ने एमालेका एक जना स्थायी कमिटि सदस्यले बताए ।

आकांक्षीमध्येका एक खतिवडाले भने, ‘आफ्नो उम्मेदवारी माथिल्लो नेतृत्वहरुको सल्लाहमा हुन्छ ।’

केही दिनदेखि कोशी प्रदेशमा भएपनि अध्यक्ष ओलीले कसैलाई त्यस्तो आश्वसन भने नदिएको नेताहरु बताउँछन् ।

आइतबार विराटनगरमा भएको प्रदेश कमिटीको बैठकमा समेत ओलीले त्यस्तो कुनै छनक दिएनन् । कोशी प्रदेशमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, सचिव योगश भट्टराई, स्थायी समिति सदस्यहरु भीम आचार्य, शेरधन राई, लालबाबु पण्डित, राजेन्द्र गौतम, शिवमाया तुम्बाहाम्फे, हिक्मत कार्की, अग्नी खरेललगायतका नेताहरु पनि कसैको पक्षमा अहिले खुलेका छैनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार