Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशीमा गठबन्धनलाई सहयोग गर्ने भनेर सभापति लिएका होइनौ : राप्रपा



मुख्यमन्त्री उद्धव थापा र राप्रपा संसदीय दलका नेता भक्ति सिटौला

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई गठबन्धनले एकाएक एउटा संसदीय समितिको सभापति दिने निर्णय गरेपछि धेरै मिडियाहरुमा ‘कोशी प्रदेशसँग राप्रपाले साट्यो संसदीय समितिको सभापति’ भनेर समाचारहरु प्रकाशित भए । हुन पनि पूर्व तयारीबिना गठबन्धनले राप्रपालाई उम्मेवार दर्ताको दिन पूर्वाधार विकास समितिको सभापति दिएपछि यस्तो चल्नु स्वभाविक थियो ।

नेकपा माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापतिमा माओवादीले माधव सापकोटालाई उम्मेदवार बनाउने तयारी गरेको थियो । तर, राप्रपालाई दिने सहमति भएपछि उनी फिर्ता भए ।

यो समितिको सभापतिमा राप्रपा सांसद दीपकबहादुर सिंहको उम्मेदवारी परेको छ । यता, राप्रपाले भने सिंहलाई समितिको सभापति बनाउन कुनै लेनदेन नभएको बताएको छ । राप्रपाका प्रवत्ता मोहन श्रेष्ठले संसदीय समितिका लागि कुनै सम्झौता नगरेको बताए ।

कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने भनेर राप्रपाले सभापति पाएको भनेर विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आएपनि त्यसको कुनै सत्यता नभएको उनले बताए ।

‘हामीले यसबारे कुनै सम्झौता गरेका छैनौ, केही मिडियामा समाचार आएपछि मैले यो कुरा पढे,’ उनले भने, ‘हामीले लिखित, मौखिक कुनै पनि डिल गरेका छैनौँ, कोशीमा अहिले हामी कसैको पछि लाग्दैनौँ ।’

ठुला दलले गणीतिय दम्भ देखाएपछि आफूहरुले गठबन्धन दलका नेताहरुसँग सबैलाई समेटेर लैजान आग्रह गरेपछि माओवादी पाएको समिति आफूहरुलाई दिइएको उनले बताए ।

कोशी प्रदेशमा सबै किसिमका विकल्प खुल्ला रहेकाले राप्रपा जे गर्दा फाइदा हुन्छ त्यतै लाग्ने उनले बताए ।

यस्तै पूर्वाधार विकास समितिको सभापतिमा उम्मेदवारी दिएका दीपकबहादुर सिंहले पनि सभापतिको बदला कोशी प्रदेशमा सत्ता गठबन्धनलाई सघाउने सौदाबाजी नभएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार