विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विद्यादेवी भण्डारीलाई कसैले निषेध नगरेको बताएका छन्
एमालेको कोशी प्रदेश कमिटीको पुर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने बताए । उनले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं ।’
‘भण्डारीले पार्टीमा काममा सक्रिय हुने चाहाना देखाए कसैले निषेध नगर्ने ओलीले बताए । ‘उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आएर राम्रो नेतृत्व गरे ठिक छ । उहाँ आउँछु त भन्नुपर्यो । उहाँलाई सधैँ वेलकम छ ।’ ओलीले भने ।
पार्टीभित्रका नेताहरुले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको उनले बताए । पार्टीको पूर्वउपाध्यक्ष भएकाले भण्डारीलाई केही नेताले भेट्नु ठूलो कुरा नभएको उनले बताए ।
‘पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरुको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ । त्योभन्दा अगाडि पनि हाम्रो नजिककै मित्र हो नि । हाम्रो पार्टीको उपाध्यक्ष नै हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो । त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरा होइन,’ ओलीले भने ।
यस्तै माओवादीले आफ्नो तस्बिरमा टाउकोदेखि खुट्टासम्म सुनैसुनको गरगहना लगाएको फोटो बनाएर कुप्रचार गरेको आरोप लगाए । यस्तो काम अस्वस्थ र गलत मानसिकता भएका मानिसहरुले गर्ने उनले बताए ।
उनले भने, ‘माओवादीले केपी ओलीको तस्बिर राखेर टाउकोमा सुनका गहना, दौरा सुरवाल पनि सुनकै, शरिर सुनकै, कोट सुनकै, जुत्ता सुनकै, टोपी सुनकै, जताजतै सुनैसुन बनाएर प्रचार गरिरहेका छन् । यस्तो हावादारी कुरा जनताले पत्याउँदैनन् । यस्तो काम अस्वस्थ र गलत मानसिकता भएका मानिसहरुले गर्छन् ।’