दमक : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरी बन्धु टि स्टेटको जग्गा कानुनसम्मत ढङ्गले मन्त्रिपरिषदले सट्टाभर्ना गर्न अनुमति दिएको बताएका छन् । झापाको दमकमा आयोजना गरिएको एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काँग्रेस माओवादी जस्तो आफू कमिसनको लोभमा नपरेको बताए ।
बरु माओवादी र काँग्रेसले गिरी बन्धुकै ७० विगाहा जग्गा हचुवाका भरमा बसपार्क बनाउन दिएको उनको भनाइ छ । ओलीले भने– गिरी बन्धु टि स्टेट केपी ओलीले खायो भन्छन्, त्यहींँ छ त कसरी खाएँ ?’
माओवादी र कांग्रेसलाई लक्षित गर्दै उनले भने, ‘तिनीहरूले एकपटक १९ विगाहा र एक पटक ५१ विगाहा गरेर ७० विगाहा जमिन बिना कानुन टि स्टेटलाई सट्टाभर्ना दिएका हुन् ।’
आफू प्रधानमन्त्री भएका बेला उक्त जग्गा सट्टाभर्नाका लागि टि स्टेटका तर्फबाट निवेदन आएको उनले बताए । ‘चियाको बोटको आयु ६० देखि ८० वर्ष हुँदो रहेछ । ०२०/०२१ सालमा लगाएको चियाको बोटको आयु पुगिसकेको थियो,’ अध्यक्ष ओलीले भने, ‘फेरि चिया लगाउनका लागि अरु २० वर्ष पर्खनुपर्ने रहेछ । त्यसैले अर्को जमिन खरिद गरेर यहाँ सहरीकरण गर्न मिल्ने गरी २०७८ साल बैशाख १३ गतेको मन्त्रिपरिषदले निर्णय गरेको हो ।’
आफू देश बनाउने गन्तव्य बोकेर हिंडेको व्यक्ति भएको वताउँदै ओलीले राज्यको सम्पत्ति, जनताको सम्पत्ति र सार्जजनिक सम्पत्ति अनधिकृत र गलत ढङ्गले आफ्नो बनाउन कहिल्यै नलागेको र नलाग्ने स्पष्ट पारे ।