Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

लेखा समितिको सभापतिमा एमालेले पोखरेललाई उम्मेदवार बनाउने



विराटनगर : लामो समयदेखि चयन हुन नसकेको संसदीय समितिका सभापतिहरुका लागि भदौ ११ गते निर्वाचन हुने भएको छ। प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाका २ गरी १२ वटा समितिमा नेतृत्व छान्न बाँकी छ।

संघीय संसद सचिवालयले बिहीबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ । गत साउन २२ गते सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच संसदीय सभापति बाँडफाँट गर्ने समझदारी भएको थियो । जसअनुसार कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २, एकीकृत समाजवादीले १, जसपाले १ र जनमतले १ समितिको नेतृत्व पाउनेछन्।

सार्वजनिक लेखा समिति, महिला तथा सामाजिक समिति र संसदको दुवै सदनको संयुक्त समिति– राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति एमालेको भागमा छ ।

यीमध्ये सार्वजनिक लेखा समितिमा धेरैको नजर छ । स्रोतका अनुसार सार्वजनिक लेखा समितिको सभापति एमालेले सांसद ऋषिकेश पोखरेललाई पठाउने तयारी गरेको छ ।

लेखा समितिमा एमालेबाट ८ जना सांसद सदस्य छन् । पोखरेलसहित योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युत मैनाली, दामोदर भण्डारी,सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मिणी राना बराइली लेखा समितिको सदस्य छन् ।

एमालेका एक सांसदले लेखा समितिको सभापतिमा पोखरेललाई उम्मेदवार बनाउने टुंगो लागेको बताए ।

नेकपा एमालेको मोरङ जिल्ला कमिटी अध्यक्षसमेत रहेका पोखरेल मोरङ क्षेत्र नम्बर २ बाट दोस्रो पटक निर्वाचित भएका हुन् । उनी यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भएका थिए ।

दुईपटक चुनाव जितेर पनि मन्त्री बन्न नपाएका पोखरेललाई पार्टी अध्यक्षले मौका दिन लागेको स्रोतको भनाइ छ ।

त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा रौतहटका किरणकुमार साहलाई उम्मेदवार बनाउने तयारी गरेको छ। किरण साह रौतहट—२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

२०७७ सालमा जनता समाजवादी पार्टी त्यागेर नेकपा एमालेमा गएका उनलाई गत मंसिरमा भएको चुनावमा टिकट पाएनन्। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए। चुनाव जितेपछि उनी गत पुसमा नै एमाले फर्किएका थिए।

एमालेको भागमा परेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको भने केही दिनमा मात्रै उम्मेदवारी टुंग्याइने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार