Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य,  अध्यादेशबाट बजेटको तयारी



विराटनगर : कोशी प्रदेशसभाको चालू अधिवेशन अन्त्य भएको छ । स्राेतका अनुसार प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउन प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको हो ।

बुधबार प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुनेगी अन्त्य गरेका हुन् ।

अघिल्लो हिक्मत कार्की नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ १० गतेसम्ममा बजेट अध्यादेश प्रतिस्थापन गरिसक्नु पर्ने कानुनी बाध्यता छ ।

कार्की नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट ल्याएको थियो । मुख्यमन्त्री कार्कीले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशनलाई जेठ ३१ मा अन्त्य गरी भोलिपल्ट जेठ ३२ गते अध्यादेशमार्फत बजेट ल्याएका थिए । 

उक्त बजेट अध्यादेश गत असार १४ गते बसेको प्रदेशसभाको बैठकमा पेश भएको हो । असार १४ गते संसदमा पेश गरेको अध्यादेश ६० दिनभित्र प्रदेशसभाबाट पारित नभए स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । उक्त अध्यादेश निष्क्रिय हुने अवस्थामा सरकारले प्रदेशसभाको अधिवेशन अन्त्य गरेर पुनः अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार