विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानको मुल्य मान्यताविपरीत विश्वासको मत लिएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र प्रमुख सचेतक रेवतीरमण भण्डारीले सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गराएका हुन् ।
सोमबार मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीलाई समेत मत हाल्न लगाएपछि एमाले अदालत गएको हो ।
एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा, ४ भदौका सभाध्यक्ष इस्राइल मन्सुरी, अध्यक्ष मण्डकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता गरेका हुन् ।
सभामुखको भूमिकामा रहेका मन्सुरीले मत प्रयोग गरेर लिएको विश्वासको मत बदर गरी पाउँ भनी रिट दायर गरेको एमाले प्रमुख सचेतक भण्डारीले जानकारी दिए । ‘सोमवार मत विभाजनको हस्ताक्षर गर्ने क्रममा समायवधि सकिसकेको अवस्थामा सभाध्यक्षको आसनबाट इस्राइल मन्सुरीले गरेको हस्ताक्षसमेत जोडी ४७ पुर्याएको कार्य गैरकानुनी छ भनी बदर गरी पाउँ र संविधानको धारा १६८ (३) बमोजिम तथा सर्वोच्चबाट यसअघि नै भएको आदेशबमोजिम मुख्यमन्त्री नियुक्त गर्न आदेश गरी पाऊँ,’ भनी एमालेले रिट दायर गरेको भण्डारीले बताए ।
सोही विषयलाई लिएर बुधबार बसेको प्रदेशसभा बैठक प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दल राप्रपाले बहिष्कार गरेका छन् । सभामुखको भूमिका असंवैधानिक रहेको भन्दै एमाले र राप्रपाले सदन बहिष्कार गरेपछि अनिश्चितकालका लागि बैठक स्थगित भएको छ ।