Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

रक्षा गर्छौ भन्नेहरुले संविधानलाई ध्वस्त पारे, कोशी सरकारविरुद्ध अदालत जान्छौँ : एमाले सचेतक राई



विराटनगर : नेकपा एमाले कोशी प्रदेश संसदीय दलकी सचेतम सिर्जना राईले संविधानको रक्षा गर्छौ भन्नेहरुले नै संविधानलाई ध्वस्त पारेको आरोप लगाएकी छिन् । संविधान रक्ष गर्नका लागि कोशी सरकारको कदमविरुद्ध आफूले अदालत जाने उनले बताइन् ।

मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिनु असंवैधानिक भएको बताउँदै राईले भनिन्, ‘अरुलाई प्रतिगमन देख्ने र संविधानको रक्षा गर्छौ भन्दै ठूलोठूलो स्वरमा ढ्वाङ्ग्रो ठोकेर नथाक्नेहरुले आज संविधानलाई च्यातचुत पारेर ध्वस्त पारे ।’

सभाअध्यक्ष इस्राइल मन्सुरीले विवादित ढंगबाट सरकारलाई विश्वासको मत दिएपछि मुख्यमन्त्री थापाविरुद्ध सर्वोच्च जाने र त्यसको तयारी थालिएको उनले जानकारी दिइन् ।

‘एकपटक मात्र होइन पटकपटक यो गठबन्धनले संविधान मिच्ने काम गरेको छ, गठबन्धनले संघीयतालाई नै अप्ठ्यारोपा पार्ने हुर्मत गर्नु दुखद कुरा हो, अदालतले यसलाई पुनः करेक्सन गर्छ,’ उनले भनिन् ।

प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो । मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् ।

सत्ता गठबन्धनले पटकपटक संविधानको मूल्य मान्यताको धज्जी उडाएपछि त्यसलाई करेक्सन गर्न आफू कानुनी बाटोमा जाने उनले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार