विराटनगर : नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले पार्टीका प्रदेश संरचनालाई प्रदेशकै अनुसार चल्न नदिइएको गुनासो गरेका छन् ।
सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले प्रदेशलाई अधिकार नदिँदा गैर संसदीय खेल भइरहने बताए । पार्टीका प्रदेश संरचनलाई अधिकार दिए गैर संसदीय, संसद किनबेच र आर्थिक मोलमोलाइको घिनलाग्दो अवस्था देख्नुपर्ने अवस्था नआउने बताए ।
उनले लेखेका छन्, “प्रदेश १ संसदको रमाइलोमा १ टिप्पणी !!! प्रदेशलाई प्रदेशकै अनुसारले चल्न दिने हो भने केन्द्रीय सत्ताको प्रयोग र गठबन्धन साधनको हिस्सा प्रदेशलाई नबनाउने हो भने, प्रदेशमा रहेका दलहरूलाई स्व निर्णयको अधिकार दिने हो भने ! प्रदेशले यो गैर संसदीय, संसद किनबेच र आर्थिक मोलमोलाइको घिनलाग्दो अवस्था त देख्न पर्दैनथ्यो । यस्ता गतिविधि, अभ्यास र प्रयोगले कसलाई स्याबास भनेर ताली देलान् सत्बुद्घी सहित हेक्का राखे राम्रो होला कि केन्द्रीकृत नेतृत्व ज्यूहरूले !!!!”
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिँदै छन् । तर, उनले विश्वासको मत पाउने सम्भावना न्यून छ । सभामुखबिहीन रहेको प्रदेशमा उपसभामुख सिर्जना दनुवार विदामा बस्ने भएकी छिन् भने एमाले र राप्रपाले आफ्ना जेष्ठ सांसदलाई अनुपस्थित गराउने जानकारी गराइसकेका छन् ।