विराटनगर : कोशी प्रदेश सरकारको स्वास्थ्यमन्त्री नियुक्त भएकी निर्मला लिम्बूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।
शुक्रबार प्रदेश प्रमुखको कार्यालयाा लिम्बूले शपथ ग्रहण गरेकी हुन् । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टीकी एक्ली सांसद लिम्बू दोस्रोपटक स्वास्थ्यमन्त्री बनेकी हुन् ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिनुअघि गठबन्धन दलबाट १/१ जना मन्त्री हुने पूर्वसहमतिअनुसार जसपाकी लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका हुन् ।
गठबन्धन दल कांग्रेसको तर्फबाट कोशीको मुख्यमन्त्री बनेका थापाले शुक्रबार बिहान पत्रकार सम्मेलन गरी आन्दोलनरत पहिचान पक्षधरको माग सम्बोधनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गरेपछि जसपा सरकारमा सहभागी भएको हो ।
तर, शपग ग्रहण कार्यक्रममा लिम्बूले संविधानको उल्लंघन गरेकी छिन् । प्रदेश प्रमुख खापुङले उनलाई ‘कोशी प्रदेशको मन्त्रीको कामकाज प्रचलित कानुनको अधिनमा रही गर्ने छु’ भनेर शपथ खुवाएका थिए । शपथग्रहणका क्रममा लिम्बूले ‘कोशी प्रदेश’ नै वाचन गरिन्। तर, पछि एउटा शब्द गल्ती रहेको भनेर उनी आफैंले पुनः दोस्रोपटक ‘कोशी’का ठाउँमा ‘१ नम्बर प्रदेश’ वाचन गरिन्।
‘कोशी’का ठाउँमा ‘१ नम्बर प्रदेश’ भनेर पढे पनि लिम्बूले शपथका अरू शब्द भने हुबहु वाचन गरिन्।
कानुनतः शपथ ग्रहण गर्दा हुबहु वाचन गर्नुपर्ने प्रावधान छ । प्रदेशको नामनै उच्चारण नगरेको उक्त शपथ ग्रहणलाई प्रदेश प्रमुखको कार्यालयले भने मान्यता दिएको छ।
नवनियुक्त मन्त्रीले संविधानविपरीत शपथग्रहण गरेपछि चौतर्फी विरोध भएको छ। राजनीतिक विश्लेषकदेखि कानुनका विज्ञ, संविधानविद्हरू लिम्बूबाट शपथकै अवहेलना भएको भनेर चर्को आलोचना गरेका छन्।