विराटनगर : कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै इमेलमार्फत राजीनामा दिएको विषयले यतिबेला चर्चा पाएको छ ।
सभामुख निकट स्रोतले काठमाडौंमा रहेका गौतमले उपसभामुखलाई इमेलमार्फत राजीनामा पत्र पठाएर विराटनगर आउने तयारीमा रहेको बताएको थियो ।
यद्यपि उपसभामुखको सचिवालयले भने अहिलेसम्म राजीनामाको मेल नआएको बताएको छ । उपसभामुख दनुवारको स्वकीय सचिव भूवन दाहाल भने, ‘मैले मेल हेरिरहेको छु, तर, अहिलेसम्म सभामुखको राजीनामा बारे कुनै मेल प्राप्त भएको छैन् ।’
यस्तै प्रदेशसभा सचिवालयले पनि सभामुखको राजीनामा नआएको बताएको छ । प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले अहिलेसम्म राजीनामाको विषयमा कुनै जानकारी नआएको बताए ।