Online Nepal
शुक्रबार, कार्तिक ७ २०८३

सभामुखलाई राजीनामा गराएर कोशीमा बहुमत पुर्याउने गठबन्धनको तयारी



विराटनगर : कोशी प्रदेशमा सत्ता गठबन्धनले बहुमत नपुग्ने भएपछि सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर सरकारको दाबी गर्ने भएको छ ।

प्रदेशमा सरकार निर्माण गर्न निर्णायक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई फकाउन सत्ता गठबन्धनले गरेको प्रयास असफल भएपछि सभामुखलाई राजीनामा गराउने अवस्थामा गठबन्धन पुगेको हो ।

आज ५ बजेसम्मको समय दिएर प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आव्हान गरेका थिए ।

माओवादीका एक प्रदेशसभा सदस्यका अनुसार राप्रपाले साथ नदिने भएपछि सभामुखलाई राजीनामा गराएर दाबी पेस गर्न लागिएको हो । ती सांसदले भने, ‘केन्द्रले नै निर्णय गरिसकेको छ । तर, सभामुखलाई राजीनामा गराएर सरकार बनाउने कुरा सान्दर्भिक भने होइन् ।’ उनले सभामुखलाई राजीनामा गराउन केन्द्रीय नेतृत्व अग्रसर बनेको आरोप लगाए ।

यस्तै नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राप्रपाले समर्थन नगरेको अवस्थामा सभामुखलाई राजीनामा गराएर सरकारमा दाबी पेश गर्ने बताए ।

असार २१ गते कोशी प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नियुक्ति सर्वोच्च अदालतले साउन ११ गते बदर गरिदिएको थियो । असंवैधानिक तरिकाले सभामुखको हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री बनेको भन्दै सर्वोच्चले थापाको नियुक्ति प्रक्रिया बदर गरेको हो । स्रोतका अनुसार आज उनै थापाले फेरी मुख्यमन्त्रीमा दाबी पेस गर्दैछन् ।

सभामुख बाबुराम गौतम माओवादीबाट निर्वाचित भएका हुन् । गौतमलाई राजीनामा गराएर सरकार बनाउने विषयमा स्वयम माओवादीकै सांसदहरुले विरोध जनाइरहेका छन् ।

केही दिनअघि मात्रै कोशी प्रदेशसभा सदस्य तथा माओवादी नेता दुर्गाप्रसाद चापागाईंले सरकार बनाउन सभामुखलाई राजीनामा गर्न लगाउने कुरा अनुचित भएको बताएका थिए । सरकार बनाउने सम्बन्धमा सभामुखलाई राजीनामा गराउने विकल्प रहेपनि उक्त कदम उचित नहुने उनको तर्क थियो । सभामुखलाई राजीनामा गराएर सरकार बनाउने कदमले प्रदेशलाई थप संवैधानिक संकटतर्फ लैजाने चापागाईंको भनाइ छ ।

यस्तै माओवादी सांसद गणेश उप्रेती पनि सभामुखलाई राजीनामा गराउन नहुने पक्षमा छन् ।

पहिला पनि एकपटक सभामुखलाई संविधान विपरीत काम गर्न लगाएको भन्दै फेरी राजीनामा गराएर सरकार बनाउन बहुमत पुर्याउनु आत्माघाती कदम भएको उप्रेती बताउँछन् ।

पार्टीले यस्तो गम्भीर विषयमा छलफल नगरी निर्णय लिएको उनको आरोप छ ।

९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ । गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४७ सांसद छन् । सभामुखलाई राजीनामा गराउँदा बहुमत पुग्ने अवस्था छ । प्रदेशमा एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार