विराटनगर : कोशी प्रदेशमा सरकार निर्माण गर्न निर्णायक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई फकाउन सत्ता गठबन्धनले अनेक प्रयास गरिरहेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले कोशीमा मात्र नभई देशभर सत्ता सहकार्यको प्रस्ताव राखेका हुन् ।
संसदीय गणितका कारण सरकार बनाउन जटिल अवस्था रहेको कोशीमा बहुमत पुर्याउन गठबन्धनले आलोपालो मुख्यमन्त्रीको समेत प्रस्ताव गरेका छन् ।
आइतबार साँझ पूर्वेलीप्रेससँग कुराकानी गर्दै राप्रपा अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीबाट सबैतिर सहकार्य गरौं भन्ने प्रस्ताव आएको स्वीकार गरे । उनले भने, ‘उहाँहरूले पहिलोबाट नै हामीलाई मिलेर सरकार बनाउन प्रस्ताव गरिरहनु भएको छ । अहिले पनि त्यही प्रस्ताव आएको छ ।’
तर, राप्रपा अहिले नै सरकारमा जाने अवस्थामा नरहेको उनले बताए । बरु स्थायित्वको लागि कोशी प्रदेशमा एमाले र कांग्रेस मिलेर सरकार बनाउँदा उचित हुने उनको भनाइ छ । ‘एमाले र कांग्रेसले आधा आधा समय सरकारको नेतृत्व गरे राम्रो हुन्छ भन्ने हाम्रो धारणा हो, त्यसै गरे राम्रो हुन्छ,’ लिङ्देनले भने ।
कसैले बहुमत जुटाउन नसके राप्रपाले उसलाई समर्थन गर्नुपर्छ भन्ने नभएको उनलेे बताए ।
९३ सदस्यीय कोशी प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसदको समर्थन आवश्यक हुन्छ । गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६, एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।