विराटनगर : सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरिदिएपछि सत्ता गठबन्धन दलका नेताहरू छलफलमा जुटेका छन् ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा कोशी प्रदेशको सरकार गठनलगायत समसामयिक विषयमा शीर्ष नेताहरूबीच अनौपचारिक छलफल भएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौलाको सहभागिता थियो ।
कांग्रेसको नेतृत्वमा रहेको कोशी सरकारमा मुख्यमन्त्रीको नियुक्ति बदरसँगै नयाँ सरकार गठनका लागि सात दिनको समय दिएपछि उनीहरू छलफलमा जुटेका हुन् ।
कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले साउन १६ गते अपराह्न ५ बजेसम्मका लागि समय दिएका छन् ।
सरकार गठनका लागि ९३ सदस्यीय कोशी प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक हुन्छ । तर, गठबन्धनमा कांग्रेसका २९, माओवादीका सभामुखबाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ गरी ४६, एमालेका ४० र राप्रपाका ६ सांसद छन् ।
कोशी अहिलेकै अवस्थामा नयाँ सरकार बन्नलाई सहज अवस्था छैन् । जटिल राजनीतिक समीकरणका कारण सरकार गठन गर्न मुस्किल छ। यस्तो अवस्थामा राप्रपालाई विश्वासमा लिन कांग्रेस-माओवादीको प्रयास जारी रहेको छ ।
शनिबारको छलफलमा पनि कोशीमा नयाँ सरकार गठनबारे विभिन्न विकल्पमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । राप्रपालाई विश्वासमा लिने, सभामुख बाबुराम गौतमले राजीनामा दिनेलगायतका विकल्पमा पनि शीर्ष नेताबीच छलफल भएको छ ।