विराटनगर : सर्वोच्च अदालतले कोशी सरकारविरुद्ध परेका रिट निवेदनको सुनुवाइका लागि तीन सदस्यीय पूर्ण इजलास गठन गरेको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ रहेको पूर्ण इजलास गठन भएको हो ।
सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको हो। सोही आदेशबमोजिम रिट सुनुवाइका लागि सर्वोच्चले तीन सदस्यीय इजलाश गठन गरेको हो। इजलाशले आजदेखि निवेदनमा सुनुवाइ थाल्नेछ।
प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरिसकेका छन् ।
सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । निष्पक्ष रहनु पर्ने सभामुख गौतमसहितको हस्ताक्षरमा गरेको सरकार असंवैधानिक भन्दै खारेजीको माग एमालेको राखेको छ ।