विराटनगर : कोशी अस्पताल विराटनगरमा विकास समितिको अध्यक्ष नियुक्तिको विषयलाई लिएर विवाद सिर्जना भएको छ । बुधबार डा. फरवार्ड सिलवाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको विकास समितिको अध्यक्षमा नियुक्ति गरेपछि यसअघि नै नियुक्त भएका अध्यक्ष भिष्मजंग कार्कीको नियुक्ति के हुने भनेर विवाद सिर्जना भएको हो ।
कार्कीलाई २०७८ साल फाल्गुन १९ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति गरिएको थियो । त्यसबेला कार्कीलाई नेकपा एकीकृत समाजवादीका मन्त्री भवानी खापुङले नियुक्त गरेका थिए ।
त्यतिबेला नेकपा एमालेका नेता तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नियुक्त गरेका अध्यक्ष महेश भट्टराई हुँदाहु्ँदै कार्कीलाई खापुङले नियुक्त गरेका थिए । उनले केहीसमय काम गर्दागर्दौ भट्टराईले अदालतबाट आफ्नो पद कायम गर्दै कामकाजका लागि आदेश ल्याएका थिए ।
केही दिनअघि भट्टराईको पदावधी सकिएपछि कार्कीले फेरी कोशी अस्पताल गएर पदभार ग्रहण गरेका थिए । उनले पदभार ग्रहण गरेपछि फेरी असार २७ गते नियुक्ति पाएका सिलवाल दिउँसो १ बजे अस्पताल गएर पदभार ग्रहण गरेपछि विवाद सिर्जना भएको हो ।
यसअघि सो अस्पतालमा यस्तो विवाद हुँदा कार्यकाल पुरा भएपछि अर्कोले पदभार ग्रहण गर्ने गरेका थिए । केही दिनअघि पदभार ग्रहण गरेका कार्कीका अनुसार यसअघि सो अस्पतालमा नन्दु सरदार अध्यक्ष हुँदा बालेश्वर कामतले नियुक्ति लिएर आएका थिए । त्यसबेला पनि अदालतबाट नन्दु स्थापित भएपछि उनको कार्यकाल सकेर बालेश्वरले काम गरेका थिए । कार्कीले पूर्वेलीप्रेससँग कुराकानी गर्दै भने, ‘यसअघिको नजिरले पनि मैले नै पाउनुपर्ने हो । तर, यहाँ विवाद सिर्जना गरियो, म अदालत जान्छु ।’
भर्खरै कार्यकाल पुरा गरेका महेश भट्टराईले भने ‘खै उहाँले हिजो कि कहिले पदभार ग्रहण गुर्नभयो रे तर, म आज जाँदा कुर्सीमा डा. सिलवाल बस्नुभएको थियो ।’ दुवै जनाले अहिलेको गठबन्धन सरकार समर्थक हुन् ।