विराटनगर : तत्कालीन नेकपा विभाजनपछि एमालेले अधिकांश कमिटीमा सर्वसम्मत तरिकाले नेतृत्व चयन गर्दै आएको छ । पार्टी विभाजनको असरका कारण पनि एमालेले सबैले मिलाएर सर्वसम्मत तरिकाले संगठन विस्तार गर्दै आएको छ ।
तर, मोरङको पथरीमा भने वडा कमिटीको अध्यक्ष छान्न निर्वाचन भएको छ । दुई जनाबीच सहमतिको प्रयास गराउँदा पनि सहमति हुन नसकेपछि पथरीशनिश्चरे नगरपालिकाको १ नम्बर वडा कमिटीको अध्यक्षमा चुनाव भएको हो ।
निर्वाचनबाट प्रदीपकुमार राई वडा कमिटी अध्यक्ष भएका छन् । २०७ मत खस्ता उनले १४१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धी सुनिल खत्रीले ६६ मत प्राप्त गरेका छन् ।
निर्वाचित राई एमालेको वडा कमिटीमा अघिल्लो कार्यकाल पनि अध्यक्ष थिए ।
यस्तै अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको हो । कमिटीको उपाध्यक्षमा पुन्यबहादुर तामाङ, सचिवमा डिल्ली पौडेल, उपसचिवद्वयमा मिना कार्की र दुर्गाप्रसाद अधिकारी चयन भएका छन् ।
सदस्यहरूमा साबित्रा कार्की, जानुका ढकाल, टेकबहादुर बस्नेत, लोकनाथ दुलाल, अमित लिम्बु, लिला गौतम, शोभाकुमारी शर्मा, लालबहादुर तामाङ, जयबहादुर तामाङ, काजी राई, शिवबहादुर लिम्बु, पूर्णिमा लिम्बु, रमेश राई, प्रमिशा धिमाल, लक्ष्मी सुवेदी, सरिता ढाकाल, राजकुमार गुरुङ र देवी राई रहेका छन् ।