विराटनगर : नेपाली कांग्रेसका उद्धव थापा मुख्यमन्त्री रहेको कोशी प्रदेश सरकारमा विनाविभागीय मन्त्री रहेका प्रदीप सुनुवारले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
सोमबार मुख्यमन्त्री कार्यालयमा बसेको थापा नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले मन्त्री सुनुवारलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ओखलढुंगाबाट निर्वाचित सुनुवार नेपाली कांग्रेसका सांसद हुन् ।
यस्तै बैठकले प्रदेश र स्थानीय तहका कर्मचारीहरुका लागि निजामती किताबखाना स्थापनाको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । निजामती ऐन परिमार्जनको प्रक्रिया अघि बढाउने र कर्मचारीको सरुवा, बढुवा, तालिमलगायत वृत्तिविकासका लागि ऐन परिमार्जन गर्ने निर्णय भएको मन्त्री सुनुवारले जानकारी दिए ।
यस्तै उनले सरकारले चाडै मन्त्रिपरिषद विस्तार छिट्टै हुने बताए । त्यसका लागि सत्ता साझेदार दलहरुबीच छलफल चलिरहेको उनको भनाइ छ ।