विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तीको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।
गत शुक्रबार एमालेले थापाको नियुक्ती संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमालेका नेता हिक्मतकुमार कार्कीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
प्रदेशमा असंवैधानिक तरिकाले सभामुख बाबुराम गौतमलाई हस्ताक्षर गराएर गठबन्धनले दाबी पेस गर्दा प्रदेश प्रमुखले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै उक्त निर्णय विरुद्ध एमालेले रिट दायर गरेको हो ।
एमालेले नेपाली कांग्रेस कोशी संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख बाबुराम गौतम र नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई विपक्षी बनाएरे रिट दायर गरेको छ ।
सभामुखसमेतलाई जोडेर गठबन्धनले दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न एमालेले माग गरेको छ । संविधानको धारा १६८ को उपधारा २ द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार गठनको बाटो खोल्नलाई परमादेश जारी गर्न माग गरिएको छ ।