Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

चापागाईंले मन्त्री त्यागे, आचार्यको पक्का



विराटनगर : शुक्रबार अपराह्न कोशी प्रदेशसभा भवनमा बसेको नेकपा माओवादी संसदीय दलको बैठकले सांसद जीवन आचार्यलाई मन्त्री बनाउने सहमति गरेको छ । बैठकमा निकै रस्साकस्सीबीच उनलाई मन्त्री बनाउने सहमति बनेको हो ।

बैठकमा आचार्यले यो सरकार बनाउन आफूले भूमिका खेलेकाले आफूलाई नै मन्त्री बनाउनुपर्ने दाबी गरेका थिए । धेरै सांसदको विरोध हुँदाहुँदै पनि उनलाई मन्त्री बनाउने सहमति बनेको हो ।

यसअघिको सरकार पनि आचार्य मन्त्री थिए । उनीसँगै अघिल्लो सरकारमा मन्त्री रहेका दुर्गाप्रसाद चापागाईंले पनि मन्त्री हुने रहर गरेका थिए । तर, आफूलाई पार्टीले मन्त्री बनाउने अवस्था नदेखेपछि उनले मन्त्री नहुने घोषणा गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत पाटीमा आलोपालो सरकारमा जाने मत उठेपनि आफू सरकारमा नजाने घोषणा गरेका हुन् ।

‘कोशी प्रदेश सरकार निर्माण सम्बन्धमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलभित्र माननीय ज्यु हरुले राख्नु भएको आलोपाल गरौ भन्ने राय, सुझावलाई आत्मासात गर्दै म यसपटक सरकार मा नजाने निष्कर्षमा पुगे’ उनले लेखेका छन् ।

जीवन आचार्य जसरी पनि मन्त्री हुने अवस्था देखेको र आफू नहुने अवस्था रहेकाले आचार्यलाई समेत दबाब दिनेगरी समाजिक सञ्जालमा लेखेका हुन् ।

नेकपा माओवादी केन्द्रको हेडक्वाटरको निर्देशन बमोजिक आचार्यलाई सरकारमा पठाउन लागिएको बताइएको छ । सम्भवतः आइतबार उनी आर्थिक मामिला तथा योजना मन्त्रालयमा नियुक्त हुनेछन् ।

यता माओवादीभित्र नयाँ र पूरानो कसलाई मन्त्री बनाउने भन्ने विवाद भने उत्कर्षमा छ । सभामुखबाहेक १२ जना सांसद रहेको माओवादी केन्द्रभीत्रको विवादले शुक्रबार माओवादीका कुनै पनि मन्त्रीले शपथ लिएनन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार