Online Nepal
बिहिबार, कार्तिक ६ २०८३

प्रदेश सरकारको रस्साकस्सी, एमाले मौन



विराटनगर : नेकपा एमालेको नेतृत्वमा रहेको एक मात्र कोशी प्रदेशको सरकार ढलेर काम चलाउमा पुगेको छ । आज २१ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश प्रमुख परशुराम खापुङले दुई वा दुईभन्दा बढी दलका लागि गरेको आव्हानको समय सकिँदै छ ।

कांग्रेस माओवादीको गठबन्धनले काठमाडौँमा छलफल, बैठक गरिरहेको छ । सबै नेताहरु प्रदेशबाट काठमाडौँ पुगेका छन् । सबैजना राप्रपालाई फकाउन लागि परिरहेका छन् । बिहीबार साँझसम्ममा राप्रपा नमानेमा विवादास्पद ४७ अंक पुर्याएर कांग्रेसले सरकारको दाबी गर्दै छ ।

कोशीमा केन्द्रीय सत्ता गठबन्धनले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उनलाई बहुमत पुर्याउनका लागि राप्रपाको समर्थन अनिर्वाय जस्तै छ । राप्रपाले भने थापालाई समर्थन नगर्ने संकेत गरिरहेको छ ।

तर, सरकारको नेतृत्व गरिरहेका एमाले स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्की विराटनगरतिरै व्यस्त छन् । उनले औपचारिक छलफलहरु गरेको सुनिएको छैन् । एमालेका प्रदेश इन्चार्ज रघुविर महासेठ र प्रदेश अध्यक्ष तुलसी न्यौपाने जिल्लातिरका मिटिङ, बैठकमा व्यस्त छन् ।

एमालेका एक केन्द्रीय सदस्यले भने, एमालेभित्रको अहिलेको अवस्था हेर्दा सरकारका विषयमा गम्भीरतापूर्वक लिएको देखिँदैन् । किनकी गठबन्धनभन्दा बढीनै मत अस्तिको संसदमा विश्वासको मत पाएको थियो । तर, त्यसपछि सार्थक छलफलहरु हुन सकिरहेको छैन् ।

एमालेमा कोशी प्रदेशबाट एक दर्जनभन्दा बढी स्थायी कमिटी सदस्यहरु छन् । तर, कोशी सरकारका विषयमा गहन छलफलहरु भइरहेका छैनन् । प्रदेशसभाका एक जना एमाले सांसद भन्छन्, ‘किन घनिभूत छलफल भइरहेको छैन्, एक प्रकारको मौनता छ, मैले बुझ्न सकिन ।’

एमालेका नेता एवं कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले आफूहरुको संख्या नपुग्ने भएकाले नै प्रयत्न र औपचारिक छलफल नगरिएको बताए । उनले संविधानको धारा १६८ को उपधारा (२) अन्तगर्त सरकार बन्ने अवस्था नरहेको र अब एमालेकै नेतृत्वको सरकार बन्ने बताए ।

राप्रपाले साथ नदिएकाले एमालेको अनुकुल ठुलो दलको हिसाबले सरकार बन्ने उनले दाबी गरे ।

सरकार निर्माणको रस्साकस्सीमा अगाडि देखिएका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने सामाजिक सञ्जालमार्फत अन्तिम समयसम्म प्रयत्न गर्ने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार