विराटनगर : कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको समयसीमा आज सकिँदै छ । तर, अहिलेसम्म कुनै पनि दलले आफ्नो पक्षमा स्पष्ट बहुमत पुर्याउन सकिरहेका छैनन् ।
कोशीमा केन्द्रीय सत्ता गठबन्धनले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । उनलाई बहुमत पुर्याउनका लागि राप्रपाको समर्थन अनिर्वाय जस्तै छ । राप्रपाले भने थापालाई समर्थन नगर्ने संकेत गरिरहेको छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा गठबन्धनसँग कांग्रेसका २९, माओवादीका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जसपाका १ गरी ४७ सांसद छन् । तर, सभामुखले मत बराबर भएको अवस्थामा मात्र निर्णायक मत दिन पाउने संवैधानिक व्यवस्था छ । यस्तो अवस्थामा सत्ता गठबन्धनसँग ४६ सांसद मात्र छन् । कोशीमा ४७ सांसद हुँदा बहुमत पुग्छ । तर, गठबन्धनले भने सभामुखसहितलाई जोडेर सरकारको दाबी गर्ने तयारी गरेको छ ।
भागबन्डामा मुख्यमन्त्री पाएको कांग्रेसलाई गठबन्धनले कोशीमा राप्रपाको समर्थन जुटाउने जिम्मा नेपाली काँग्रेसलाई नै दिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवादेखि शीर्ष तहका नेताहरुले राप्रपासँग निरन्तर संवाद गरेपनि राप्रपाले समर्थन गरिहाल्नुपर्ने कुनै कारण नभएको बताएको छ ।
राजनीतिक दलहरुले अनौपचारिक र औपचारिक रुपले कुराकानी गरेपनि अहिलेसम्म ठोस आकार नलिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । उनले आजभोली नै कुनै सहमति जुट्ने अवस्था नरहेको पनि बताए । बरु कोशीमा अन्य दलहरु मिलेर सरकार बनाउन उनले सुझाव दिएका छन् ।
राप्रपाले प्रदेश सरकारको स्थायीत्वका लागि कांग्रेस र एमाले मिल्नु पर्ने बताउँदै आएको छ । राप्रपा कोशी प्रदेशका प्रमुख सचेतक अम्बर बिष्टले सरकारको स्थायीत्वको लागि एमाले र कांग्रेस मिलेर जानुको विकल्प नभएको बताए ।
राप्रपाले गठबन्धनमा आउने संकेत नगरेपछि उद्धव थापालाई मुख्यमन्त्री बनाउन गठबन्धनले सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने तयारी गरेको छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले सभामुखलाई समेत जोडेर बहुमत दाबी गर्ने तयारी भएको बताए ।
एमालेले भने सभामुखलाई दलको सांसद मान्न नहुने बताउँदै आएको छ । सभामुखलाई समेत जोडेर कोशी प्रदेशमा गठबन्धनले बहुमत सिद्ध गरे एमाले चुप लागेर नबस्ने एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए । उनले सभामुख गौतमले कोशी प्रदेशसभा समक्ष गएको पुस २८ गते नै दलको सदस्यता परित्याग गरेको घोषणा गरेको बताए ।